विभिन्न समयमा माओवादी केन्द्रबाट छुटेर गएका नेताहरु पुरानै घरमा फर्किएका छन् । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुम पूर्वको सदरमुकाम रूकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा जितमान पुन मार्सल र उपेन्द्रलाल कामी सहितका अन्य नेताहरु माओवादी केन्द्रमा फर्किनुभएको हो ।

जनमुक्ति सेनाका पूर्व कमान्डर तथा पूर्व जिल्ला सेक्रेटरी समेत रहनुभएका मार्सललाई पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्नुभयो । मार्सल बाबुराम भट्टराइसँगै माओवादीबाट अलग हुनुभएको थियो । लामो समय बाबुरामसँगै रहनुभएका उहाँ नेपाल समाजवादी पार्टीका पूर्व केन्द्रीय सदस्य समेत हुनुहुन्छ । उहाँसंगै बाबुराम भट्टराई नेतृत्वको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित भएको छ ।

त्यस्तै पार्टीमा नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य उपेन्द्रलाल कामीलाई पनि अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको छ । बाबुराब भट्टराइसँगै रहनुभएका उहाँ केही वर्ष अघि मात्र एमाले प्रवेश गर्नुभएको थियो । पार्टी प्रवेश गर्नेहरुमा नेसपाका जिल्ला संयोजक राखिमान घर्तीमगर, उपाध्यक्ष सतमान पुन, बलबहादुर छिनाल, सचिव धर्मटेक घर्तीमगर, कोषाध्यक्ष पुथीबहादुर घर्तीमगर, जिल्ला सदस्यहरु फर्क बहादुर घर्ती, कबराज कामी, कालिबहादुर रोका, कर्मधन गुरुङ, अबिन घले, पुथाउत्तरगंगा गाउँ समितिका संयोजक धर्मटेक घर्ती, उपाध्यक्ष भागिमान घर्ती, सचिव आशिष घर्ती सदस्यहरु विरभान घर्ती, अशोक घर्ती, रवित बुढा र सलिना घर्ती लगाएत हुनुहुन्छ ।

अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै परिवर्तनको आन्दोलनमा पुनः जुट्न आग्रह गर्नुभयो । सरकारको नेतृत्वमा रहेर जनताको पक्षमा गरेका कामको कारण आएको पार्टीप्रतिको सकारात्मक लहर ऐतिहासिक र प्रेरणादायी भएको बताउदै उहाँले विचार, सिद्धान्त र लक्ष्यको आधारमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ ।