
नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले रुकुम पूर्वको सदरमुकाम रुकुमकोट नै उपयुक्त भएको बताउनुभएको छ । मध्यपहाडी लोकमार्ग माओवादी जागरण अभियानको क्रममा रुकुमकोटमा आयोजना गरिएको जनसंवाद कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले यस जिल्लाको सदरमुकाम रुकुमकोट नै उपयुक्त रहेको बताउनुभएको हो ।
जिल्ला टुक्रिसकेपछि रुकुमकोट सदरमुकाम उद्धघाटन भइ कामकाज सुरु भइसकेको अवस्थामा त्यतिबेलाका प्रधानमन्त्री सेर बहादुर देउवाले जनतालाई विभाजित गर्न हतारमा गरेको निर्णय गलत रहेको उहाँले बताउनुभएको छ । सदरमुकाम विवादले जिल्लाको विकास निर्माणमा बाधा पुगेकोतर्फ संकेत गर्दै छिटै रुकुमकोटलाई जिल्ला सदरमुकामको रुपमा टुङ्गो लगाउन पहल गर्ने अध्यक्ष प्रचण्डले बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष प्रचण्डले माओवादीले चलाएको यो अभियान अहिले माओवादीको मात्र नभइ सिंगो नेपाली जनताको अभियान बन्न पुगेको बताउनुभएको छ । अभियानको क्रममा जुनै ठाउँमा पुगेपनि सबै पार्टीबाट निर्वाचित जनप्रतिनिधी र आम जनाताले न्यानो स्वागत गर्दै समस्या समाधानको अपेक्षा सहित ज्ञापन पत्रहरु बुझाउने गरेको उहाँले बताउनुभयो ।
‘रुकुम पूर्व कृषि र पर्टनको प्रचुर सम्भावना बोकेको जिल्ला हो’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यसलाई पर्यटकिय क्षेत्रको हवको रुपमा विकास गर्न सकिन्छ ।’ यसतर्फ ध्यान केन्द्रित गरेर काम गर्न स्थानीय सरकारलाई सुझाव दिदै उहाँले आफूले पनि यसमा साथ सहयोग दिने बताउनुभयो । साथै रुकुम पूर्वमा जनसंख्या पनि कम भएको कारण यहाँ गरिबी न्यूनिकरणको काम गर्न सहज हुने भएकाले यसको अध्ययन र योजना निर्माण गरी ल्याउन तीनवटै गाउँपालिकालाई अनुरोध गर्नुभएको छ । रुकुम पूर्वलाई गरिबी न्यूनिकरण गरी उदाहरणीय जिल्ला बनाउन सकिने पनि उहाँले बताउनुभएको छ ।