
विद्युत मर्मतको क्रममा रूकुम पश्चिममा करेन्ट लागेर एक जना कर्मचारीको मृत्यु भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-४ बाबोहरागाउँमा विद्युत मर्मतका क्रममा रुकुम पूर्व सिस्ने गाउँपालिका-३ का २९ वर्षीय खिमबहादुर खड्काको मृत्यु भएको हो । उहाँ रुकुम पूर्वको नेपाल विद्युत प्राधिकरण रुकुमकोट वितरण केन्द्रमा कार्यरत हुनुहुन्थ्यो ।
मर्मतका लागि बिहिबार राति १० बजेतिर पोलमा चढेको बेलामा खड्कालाई करेन्ट लागेको थियो । रूकुम पूर्वमा विद्युत अवरुद्ध भएपछि मर्मतका लागि पोलमा चढ्नुभएका खड्काको करेन्ट लागेर पोलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक ऋषी पाठकले जानकारी दिनुभयो ।
केन्द्रीय प्रशारण लाइनको तार नजिकै रहेको सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छोइदा खड्कालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । रुकुम पूर्वमा बिहिबार दिउसोबाट विद्युत सेवा अवरुद्ध भएको छ ।