रविन विश्वकर्मा/रुकुम(पूर्व)


रुकुम(पूर्व) मा आरन सीप विकास तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास कार्यालय रुकुम पूर्वले आयोजना गरेको १२ दिने तालिम आज सम्पन्न भएको हो । आरनलाई आधुनिकिकरण गर्न सीप र प्रविधि सहयोग कार्यक्रम अन्तर्गत चैत ४ गतेदेखि सिंस्ने गाउँपालिका ६ छिप्रिदहमा उक्त तालिम संञ्चालन गरिएको थियो । तालिममा ३ वटै गाउँपालिकाका गरी २० जनाको सहभागीता रहेको थियो ।

तालिमको प्रशिक्षण सिंस्ने गाउँपालिका २ नायगाडका आरन ब्यवसायी हर्कबिर कामीले दिनुभएको थियोे । तालिम अवधिभर सहभागीहरुलाई, खुकुरी, हसिंया, दाबु, कोदालो, फरुवा, बन्चरो लगाएतका सामाग्रीहरु बनाउन सिकाएको छ ।
कार्यक्रममा बोल्दै प्रशिक्षक कामीले आफुले जानेको सीप युवाबर्ग लगाएत अन्य ब्यक्तिलाई सिकाउन पाउँदा खुसि लागेको बताउनुभयो । तर परम्परागत रुपमा चल्दै आएको आरन पेशा संरक्षणको लागि सरकारले ध्यान नदिदा आरन ब्यवसाय संकटमा परेको बताउनुभयो। जसका कारण आरन ब्यवसायीहरुको रोजीरोटी खोसिएको बताउनुभयो ।

पूर्खौंदेखि चलि आएको पेशा संरक्षण तथा प्रवद्र्वन गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै पेशा संरक्षणको लागि संघ, प्रदेश र स्थानीय गरि ३ नै तहका सरकारले विशेष कदम चाल्न जोड दिनुभयो । समाजले हेर्ने दृष्टिकोण फरक रहने भएकाले आरन पेशाप्रती युवा पुस्ताको चासो घट्दै गएको बताउनुभयो । युवा पुस्ताको नेतृत्वले मात्रै यो पेशा संरक्षण संम्भव रहेकाले अबको नेतृत्व युवाले लिनुपर्ने उहाँको भनाइ छ । जसको लागि सरकारले युवा प्रेरित कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै तालिमका सहभागी धन बहादुर कामीले तालिमको समयाअवधि बढाउनुपर्ने बताउनुभयो । आरन सीप सिक्न कम्तीमा ३ महिना पुरै लाग्ने भएकाले १२ दिनको समय अपुग रहेको बताउनुभयो । तालिम अवधिभर धेरै कुरा सिके पनि जत्ति सिक्नुपर्ने हो त्यो सबै सिक्न नपाएको गुनासो गर्नुभयो । तालिमले आरन ब्यवसाय गर्न थप हौसला प्रदान गरेको बताउनुभयो । साथै आगामि दिनमा परम्परागत रुपमा चल्दै आएका आरनलाई आधुनिकिकरण गर्दै लामो समयसम्म तालिम संञ्चालन गर्न घरेलु कार्यालयलाई सुझाव दिनुभयो ।

सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै घरेलु तथा साना उद्योग विकास कार्यालय रुकुम पूर्वका उद्योग अधिकृत मधुकर डांगिले लोप हुन लागेको पेशाप्रती युवाको आकर्षण बढान र पेशाको संरक्षण गर्ने उदेश्यका साथ तालिम संञ्चालन गरेको बताउनुभयो । तालिम छोटो अवधिको भए पनि पेशा संरक्षणमा केही टेवा पुग्ने उहाँको भनाइ छ ।

उद्योग अधिकृत डांगिले लोप हुन लागेको यो पेशालाई आधनिकिकरण गर्दै जगेर्ना गर्न तत्पर लागि पर्ने बताउनुभयो । आगामि दिनहरुमा बजेटको थप ब्यवस्था गरेर स्थानीयको जिविको पार्जनमा सहयोग पुग्ने गरी आधुनिक प्रविधि सहित लामो अवधिको तालिम संञ्चालन गर्ने प्रतिवद्वता जनाउनुभयो । यस बर्ष कार्यविधिमै १२ दिनको समय तोकेर आएकाले अर्को पटक कार्यविधि राख्दा बढि समय राख्न मन्त्रालयमा माग गरिएको डांगिले बताउनुभयो ।

सहभागीहरुलाई घरेलु कार्यालयको ८० प्रतिशत अनुदान र ब्यक्तिको २० प्रतिशत लगानी गरि अनुदानमा आवश्यक प्रविधि समेत हस्तान्तरण गरिएको छ । तालिम संञ्चालनको लागि २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । जसबाट तालिममा टाढाबाट सहभागी भएकाहरुलाई खाना,खाजा र बस्नको ब्यवस्था गरिएको थियो ।

घरेलु तथा साना उद्योग विकास कार्यालय रुकुम पूर्वका उद्योग अधिकृत डांगिको अध्यक्षामा भएको कार्यक्रममा प्रशिक्षक हर्क वीर कामीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै घरेलु कार्यालयका कम्प्युटर अपरेटर जय बहादुर बुढा,तथ्यांक सहायक रुपा आचार्य लगाएको आतिथ्यता रहेको थियो । कार्यक्रमको संञ्चालन कार्यालयका नायव सुब्बा सागर लामिछानेले गर्नुभएको थियो ।