रुकुम(पूर्व) को रुकुमकोटमा विहिबारदेखि युवा युवतीका लागि तिन महिने निशुल्क आधारभुत कम्प्युटर तालिम सुरु भएको छ । सिस्ने गाउँपालिका लघु उद्यम विकास शाखाको आयोजना र साईवरनेटिक इनिष्टच्युट अफ कम्प्युटर टेक्नोलोजी रुकुमकोटको सहकार्यमा तालिम सुरु भएको हो । तालिममा ४ नम्बर वडाका ७ जना युवा युवतीको सहभागिता छ ।

आधारभुत कम्प्युटर शिक्षा र प्रबिधिमा नागरिकको पहुँच बढाउने उदेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका उद्यम विकास सहजकर्ता मदन विसीले बताउनुभएको छ । तालिमको गाउँपालिका उपाध्यक्ष गोबर्धन बुढा र निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले उद्धघाटन गर्नुभएको हो ।

तालिम उद्धघाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष बुढाले जनचाहाना अनुसार सिस्ने सरकारले काम गरिरहेको बताउनुभयो । जनताको चाहना र रुचि अनुसार नै लघु उद्यम विकास कार्यक्रम मार्फत विभिन्न सिपमुलक तालिम सञ्चालन गरिरहेको उहाँको भनाई छ । गाउँपालिकाले जनताको जिविकोपार्जनमा सहजता ल्याउन धेरै प्रयास र लगानी गरिरहेको छ उहाँले सहभागीलाई भन्नुभयो त्यस मध्य कम्प्युटर तालिम पनि एक हो ।

यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले विज्ञान र प्रविधिको युगमा हरेक नागरिकसंग प्राविधिक ज्ञान हुन जरुरी रहेको बताउनुभयो । उहाँले सक्रिय भएर तालिममा सहभागि भई सिप सिक्न सहभागिलाई आग्रह गर्नुभएको छ । लघु उद्यम विकास कार्यक्रम मार्फत सिस्ने गाउँपालिकाले विभिन्न सिपमुलक तालिम दिदै आएको छ ।

आर्थिक समृद्धिको आधार लघु उद्यम विकास मार्फत स्वरोजगार भन्ने मुल नाराका साथ विहिबारबाट सरु भएको तालिम आगामी असार १७ गतेसम्म चल्ने सहजकर्ता विसीले बताउनुभएको छ ।