रुकुम (पूर्व) को भूमे गाउँपालिकाले किसानलाई स्याउ, कागजी बदाम र किबिको बिरुवा वितरण गरेको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई बिरुवा वितरण गरेको हो । यस वर्ष गाउँपालिकाले किसानलाई २ सय २० स्याउको बिरुवा, २ सय ३० कागजी बदाम र सबैभन्दा धेरै किबिको दुई हजार २ सय बिरुवा वितरण गरेको छ ।

प्रतिव्यक्ति किसानलाई १५ वटा भन्दा बढी र एउटा समुहलाई ६ सय बिरुवा वितरण गरिएको भूमे गाउँपालिका कृषि शाखाका नाप्रास शिखर विश्वकर्माले जानकारी दिनुभएको छ । गाउँपालिकाले यसअघि गरेको माग संकलनको आधारमा किसानलाई बिरुवा वितरण गरेको हो । त्यहाँ सबैभन्दा बढी अहिले किबिको माग बढेको छ । पहिले फाटफुट रुपमा र परिक्षणको लागि किबि खेती गर्दै आएका भूमेका किसानले पछिल्लो समय किबिलाई व्यवसायिक रुपमा खेती गर्ने अभ्यास गरेको कृषि नाप्रास विश्वकर्माले बताउनुभयो । अहिले स्याउको माग कम छ । विगतका वर्षहरुमा प्रायः किसानले स्याउको बिरुवा लगाइसकेकाले अहिले स्याउको बिरुवाको माग कम आएको गाउँपालिकाले जनाएको छ ।

कागजी बदाम पनि गाउँपालिकाको लागि नयाँ प्रजाती रहेको छ । यी सबै बिरुवा रामेछापबाट ल्याइएका हुन् । जिल्ला भित्रका नर्सरी उत्पादक किसानले सरकारी मुल्यमा बिरुवा नदिदा बाहिरबाट बिरुवा खरिद गर्नुपरेको नाप्रास विश्वकर्माले बनताउनुभयो । उहाँकाअनुसार अहिले किसानलाई वितरण गरेको किबिको प्रति बिरुवाको मुल्य १ सय १० रुपैयाँ रहेको छ । ५० प्रतिशत अनुदानमा वितरण गर्दा किसानले ५५ रुपैयाँ तीरेका छन् । यस्तै स्याउको ७० र कागजी बदामको सरकारी मुल्य ६० रहेको छ । यसमा पनि किसानले स्याउमा ३५ र बदाममा ३० रुपैयाँ तिरेर बिरुवा लगेका छन् ।