रुकुम (पूर्व) र रुकुम पश्चिममा भोली फागुन १ गते विभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस मनाइदैँ छ । रुकुम (पूर्व) को तीन वटै पालिकामा विभिन्न कार्यक्रम गरि जनयुद्ध दिवस मनाउन लागिएको हो ।

नेकपा माओवादी केन्द्र सिस्ने गाउँ कमीटीले भोली शुभकामना आदानप्रदान गरेर जनयुद्ध दिवस मनाउने भएको छ । यस्तै सिस्ने ५ नम्बर वडा पार्टीले जनयुद्ध दिवसकै अवसर पारेर खोलकुद प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिताको भोली नै उद्धघाटन हुने छ । सिस्ने ३ मा वडा पार्टी कार्यालय उद्धघाटन गरिने छ । ६ नम्बर वडा पार्टीले दिपावली गर्ने भएको छ । अन्य वडामा भने सुभकामना आदानप्रदान गरी जनयुद्ध दिवस मनाउने पार्टी गाउँपालिका इन्चार्ज एवम् प्रदेश कमीटी सदस्य कृष्ण रेग्मिले जानकारी दिनुभयो ।

भूमे गाउँ कमिटिले दिप प्रज्वलन, ब्यानर तथा झण्डा गाडेर, अन्तरक्रिया तथा शुभकामना आदानप्रदान गरेर जनयुद्ध दिवस मनाउने गाउँकमीटीका अध्यक्ष रुपधन कामीले जानकारी दिनुभयो । पुथाउत्तरगंगामा भने गाउँपालिका सरकारले सहिद परिवार घाइते, अपाङ्गलाई सम्मान गरि जनयुद्ध दिवस मनाउन लागिएको गाउँपालिकाका प्रवक्ता एवम् ८ नम्बर वडाध्यक्ष भिमबहादुर मल्लले जानकारी दिनुभयो ।

रुकुम पश्चिममा पनि नेकपा माओवादी केन्द्रले विभिन्न कार्यक्रम गरेर जनयुद्ध दिवस मनाउन लागेको छ । मुसिकोट नगरकमिटिले जनयुद्ध दिवसको अवसर पारेर नगर पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्न लागेको छ । त्यसैगरी सहिदहरुको फोटोमा माल्यार्पन र चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको पार्टीका नगर कमिटी सदस्य नारायण केसीले जानकारी दिनुभयो ।

चौरजहारी नगरकमिटी, आठबिसकोट नगरकमिटी, सानोभरी गाउँकमिटी, बाँफिकोट गाउँकमिटी, र त्रिवेणी गाउँकमिटीले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेका छन् । जिल्लाको मुसिकोट, आठबिसकोट, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएका छन

२०५२ साल फागुन १ गते ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै जनयुद्धको बाटोमा अघि बढौँ । विद्रोह जनताको अधिकार हो’ भन्ने मूल नाराका साथ तत्कालिन माओवादीले जनयुद्ध सुरुवात गरेको थियो ।