रोल्पाको थबाङ गाउँपालिकाले जनयुद्ध दिवसको अवसमा शुभकामना दिएको छ । गाउँपालिका अध्यक्ष बिरबहादुर घर्तीले एक शुभकामना वक्तव्य जारी गर्दै जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ ।

श्ुभकामना वक्तव्यमा भनिएको छ, “२७ औं जनयुद्ध दिवसको अवसरमा थबाङ गाउँपालिका निवासी आमा–बुवा, दाजुभाई, दिदी बहिनी तथा देश बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्दछु । जनयुद्ध नेपाली जनताको ऐतिहासिक पहल कदमी, परिवर्तनको ऐतिहासिक प्रक्रिया र एउटा युगान्तकारी प्रभाव हो । जनताको ठूलो त्याग, बलिदान र नेतृत्वको दृढ बिश्वासकै कारण आज नेपाली जनता सार्वभौम भएका छन् । विभिन्न आन्दोलनको नेतृत्व गर्दै जनयुद्धले नेपाली जनतालाई निरंकुश राजतन्त्रबाट मुक्त गरी समावेशी, समानुपातिक प्रतिनिधित्व र स्वास्थ्य, शिक्षा, रोजगारी र आवासको अधिकारसमेतलाई मौलिक हकका रुपमा स्थापित गर्दै अधिकार सम्पन्न बनाएको छ ।”

वक्तव्यमा भनिएको छ, “यो महान उपलब्धीमा बलिदान दिने महान् सहिदहरुलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते तथा अपांगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै ऐतिहासिक जनयुद्धको पहलकदमी लिने, सुरुवात गर्ने र सहभागी सबै नेतृत्व, कर्यकर्ता, जनमुक्ति सेना र आम थबाङ गाउँपालिका एवं सम्पूर्ण नेपालीहरुप्रति आभार प्रकट गर्दछु ।”

जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनसंघर्षको बलमा २०७२ सालमा संघीय गणतन्त्र नेपालको संविधान जारी गरेपश्चात् सिंगो मुलुकले तीव्र गतिमा विकास र समृद्धि प्राप्त गर्ने संकल्प गरेको थियो । यो संकल्प स्मरण गर्दै विकास र समृद्धिको एजेण्डाबाट कोही पनि बिचलित नहुन आग्रह गर्दछु । अन्त्यमा २७ औं महान् जनयुद्ध दिवसले विकास र समृद्धिको अभिभारा पुरा गर्दै समाजवादी राज्य व्यवस्थाको स्थापनाका लागि हामी सबैमा प्रेरणा गर्ने विश्वास सहित सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु ।”