१० वर्षे जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २७ औं स्मृति तथा वलिदान दिवस रुकुम(पूर्व) सहित दशैभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । तत्कालीन नेकपा माओवादीद्वारा संचालित १० वर्षे जनयुद्धका क्रममा सबै भन्दा पहिले मारिएका रम्तेलको २७ औं स्मृति तथा वलिदान दिवसको अवसरमा रुकुम (पूर्व) मा दिप प्रज्वलन गरिएको छ । रम्तेल लगायत सम्पुर्ण सहिदहरुको स्मृतिमा अनेरास्ववियू क्रान्तिकारीले आज दिप प्रज्वलन गरेको हो ।
देश परिवर्तनको क्रममा ज्यान आहुती दिएका जनयुद्धका महान सहिदहरुको सम्मानमा दिप प्रज्वलन गरिएको अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य रेवन खड्काले बताउनुभयो । दिप प्रज्वलन कार्यक्रममा पूर्व आपूर्ती मन्त्रि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गनेशमान पुन प्रमुख उपस्थिती रहेको थियो । सिस्ने गाउँपालिका ५ स्थित वि.एल.वि होटेलमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता, कार्यकर्ता, युवा, विद्यार्थी, शुभचिन्तक लगाएत सम्वद्व सबै पक्षको उपस्थिती रहेको केन्द्रिय सदस्य खड्काले बताउनुभयो ।
आजभन्दा २७ वर्ष अगाडि गोरखाको पुन्द्रुङस्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा पढ्ने ११ वर्षीय विद्यार्थी रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए । तत्कालीन माओवादीले रम्तेललाई जनयुद्धको पहिलो सहिदको रुपमा सम्मान गर्दछ । रम्तेल मारिएको फागुन १४ र झापा आन्दोलनमा लागेकाहरुलाई नियन्त्रणमा लिएर सुखानीको जंगलमा हत्या गरिएको दिन फागुन २१ गते एक सातासम्म तत्कालीन माओवादीहरुले ‘बलिदान दिवस’को रुपमा मनाउने गर्दछन् ।