नेकपा एमालेका केन्द्रिय सविच एवम् लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले एमाले पार्टी सिंगो शक्तिको साथमा जनताको माझमा गइरहेको बताउनुभएको छ । रुकुम(पूर्व) मा नेकपा एमालेको ८ औ जिल्ला अधिवेशनलाई संबोधन गर्दै सचिव विश्वकर्माले जनताको आकर्षणको दल नेकपा एमाले रहेको बताउदै सिंगो शक्तिको साथमा जनताको माझमा गइरहेको बताउनुभयो । आगामी चुनावलाई लक्षित गर्दै नेकपा एमाले एकताबद्ध भएर जनताको माझमा जानुपर्नेमा पनि सचिव विश्वकर्माले जोड दिनुभयो ।
एमाले देशकै ठुलो पार्टी भएकाले आगामी दिनमा पनि एमालेलाई देशकै एक नम्बर पार्टी बनाउनको लागि आआफ्नो ठाउँबाट लाग्न कार्यकर्तालाई उहाँले निर्देशन गर्नुभएको छ । एमाले सरकारले गरेको कामको प्रशंसा अहिले आम नागरिकले गरिरहेको बताउदै वृद्धवृद्धालाई भत्ताको व्यवस्था गर्ने पनि एमाले सरकारमा हुँदा भएको बताउनुभयो । रुकुम(पूर्व) का जनतालाई रुखै समात्नुपर्छ भन्ने पनि नभएको भनाई सचिव विश्वकर्माले राख्नुभयो । सचिव विश्वकर्माले जनभावना विपरित गठबन्धन सरकारले एमसीसी पास गरेको पनि बताउनुभएको छ ।
यस्तै नेकपा एमालेका पोलीटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेश संगठन कमिटी सहइन्चार्ज दधिराम न्यौपानलेले सत्तारुढ गठबन्धनले कम्यूनिष्ट पार्टीको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ । नेकपाको मुल धार नेकपा एमाले भएकाले कम्यूनिष्ट पार्टीको नेतृत्व एमालेले मात्रै गर्न सक्ने उहाँले बताउनुभयो । सत्तारुढ गढबन्धनले नेपाललाई समृद्धिको बाटोमा लान नसक्ने भनाई उहाँको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्य पार्टीको आडमा जनतासामु खुसी नेपाली समृद्ध नेपाल नारा लगाएर हिड्नु व्यर्थै रहेको पनि उहाँले बताउनुभयो ।
देशमा जुनसुकै पार्टी मिलेपनि अब साम्यवाद धेरै दिन नटिक्ने भनाई उहाँको थियो । अबको विकल्प भनेको नेकपा एमाले रहेको उहाँले बताउनुभयो । एमालेको साथ नेपाली जनताले खोजिरहेकाले अबको चुनावमा नेकपा एमाले भारी मतका साथ विजयी हुने दाबि उहाँले गर्नुभयो ।