रुकुमकोट । नेपालको एक विशेष पर्व हरितालिका तीज रुकुम पूर्वमा हर्ष उल्लासका साथ मनाइएको छ । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु नारीहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाएका छन ।

नाचगानका लागि दिदिबहिनीलाई दाजुभाइले पनि मादलमा साथ दिएका थिए । महिलाहरुले वर्षदिन आफूलाई परेका दुःख, पीर, मर्कालाई गीत मार्फत सार्वजनिक गरेका थिए । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले तीजको अवसरमा गीतका माध्यमबाट पोखेको पाइएको थियो ।

विवाह गरी पतिका घर गएका छोरीचेली रुकुमकोटमा भेला भइ हर्ष उल्लासका साथ तीज मनाएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष शिव मन्दिर र कमलदह परिसरमा दिदिबहिनी र दाजुभाइको उपस्थिति भव्य देखिएको थियो । सेल्फि खिच्ने र टिकटक बनाउनेहरुको जमात पनि कम थिएन ।

जिल्लाका दिदिबहिनीले तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाएका थिए । उनिहरु आज विहान जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बसेका हुन ।

तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुख समृद्धि छाउने जनविश्वास छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै  शिवको व्रत–आराधना गरेका छन, भने विवाहित महिलाहरूले श्रीमानको सुस्वास्थ्य तथा दीर्घायु र पारिवारमा सुख शान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत बसेको जनाएका छन ।

आज विहान विवाहित तथा अविवाहित महिलाहरू जिल्ला सदरमुकाम रुकुमकोटमा रहेको शिव र ब्राह मन्दिरमा पूजा आरधना गरि दिउँसो मन्दिर नजिकै रहेको जिप्रका परिसरमा भेला भइ साझसम्म नाचगान गरेका थिए ।

दिनभर नारीहरू राता लुगा र गहनामा सजिएर नाचगानमा ब्यस्त थिए । आज दिनभर कमलदह परिसरमा तीजको रौनक निकै देखिन्थ्यो ।

विगतका वर्षमा महंगा साडी र गहनामा सजिने नारीहरु यस पटकको तीजमा भने सामान्य साडिमा सजिएका देखिन्थे ।  कन्याहरू पनि व्रत र नाचगानमा सरिक भएका थिए ।

दिनभरि निराहार व्रत बसेका विवाहित महिलाहरू साँझ भगवान् शिवको पूजा र श्रीमानको खुट्टा धोइ पानी खाएर फलाहार गरेका छन । अविवाहित नारीहरु भने शिवको पूजा गरि फलाहार गरेका छन ।