अमर खत्री
पोखरा: रुकुम पूर्वमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू क्रान्तिकारीले माध्यमिक विद्यालयमा मावि मूल इकाई कमिटी गठन गर्न सुरु गरेको छ । 
बुधबार जिल्लाको सिस्ने गाउँपालिका ३, स्थित जनता मावि पोखरामा मावि मुल इकाई कमिटी गठन गरिएको छ । विद्यार्थीसंग अखिल क्रान्तिकारी भन्ने नारा सहित अनेरास्ववियू क्रान्तिकारीले कमिटी गठन गर्न सुरु गरेको हो ।
जनता मावि पोखरामा सुवास विककाे अध्यक्षतामा ५१ सदस्य मावि मुल इकाई कमिटी गठन गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रेबन खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपाध्यक्षमा दलजित कवर, धनुष खत्री र यमुना सुनारलाई छनोट गरिएको छ । सचिवमा दिनेश कवंर सहसचिवमा संगिता केसी र सुमन खड्का तथा काेषाध्यक्षमा जेनि खड्का छनोट हुनु भएको छ ।
यस्तै कमिटीले गाउँपालिका स्तरीय कमिटीमा देबिका खड्का र सपना खत्रीलाई सदस्यको रूपमा सिफारिस गर्ने निर्णय पनि गरेको छ । माध्यमिक तहमा अध्यनरत सयौं विद्यार्थीको भिडबाट विद्यार्थीले नै पदाधिकारी छनोट गरेका अखिल क्रान्तिकारीका अध्यक्ष खड्काले बताउनुभयो ।
मावि मुल इकाई कमिटी गठन कार्यक्रममा उपस्थित विद्यार्थी नेताहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न क्रान्तिकारी विद्यार्थीहरु अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा रुकुम पुर्ब जिल्ला अध्यक्ष खड्का, प्रदेश सदस्य तथा जिल्ला सचिव चन्द्र रसाइली लगायतका विद्यार्थी नेताहरूकाे उपस्थिति रहेको थियो । 

