अनेरास्ववियू क्रान्तिकारी रुकुम पूर्वले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक (डिएसपी) माधवराज खरेललाई सत्ताधारी पार्टीको सिपाहि नबन्न चेतावनी दिएको छ । अनेरास्ववियूबाट उम्मेद्वार बनाइएका २ जना उम्मेद्वारले मनोनयन फिर्ता लिने क्रममा डिएसपी खरेलले निर्वाचन समिति र उम्मेदवारी फिर्ता लिन लागेका विद्यार्थीलाई हपकधपक पार्न खोजेको अखिल क्रान्तिकारी रुकुम पूर्वले आरोप लगाएको छ ।

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य बिकास खड्काका अनुसार अनेरास्ववियूबाट उम्मेद्वार बनेका २ जना सदस्यले आफूलाई जानकारी नगरायरै उम्मेद्वार बनाएको भन्दै बिहिबार दिउसो सिस्ने शिक्षा क्याम्पसमा उम्मेदवारी फिर्ता लिन गएका थिए । यहि क्रममा अनेरास्ववियू क्रान्तिकारी सहित अनेरास्ववियू र नेविसंघको बिचमा छलफल चलिरहेको अवस्थामा एक्कासी आएर उम्मेदवारी फिर्ता लिन लागेका विद्यार्थीलाई डिएसपी खरेलले हपकधपक पार्न खोजेको केन्द्रिय सदस्य खड्काले बताउनुभयो ।

डिएसपी खरेल आफ्नो पदिय मर्यादाभन्दा बाहिरबाट अमुख राजनितिक पार्टीको सिपाहीका रुपमा प्रस्तुत हुन खोजेको प्रती विद्यार्थी संगठनले आपत्ती जनाएको हो ।  डिएसपी खरेललाई सत्ताधारी पार्टीको सिपाही नबन्न चेतावनी दिदै अखिल क्रान्तिकारी रुकुम पूर्वले विज्ञप्ती जारी गरेको छ ।

विज्ञप्तीमा भनिएको छ,”हाम्रो महान तथा गौवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) लामो त्याग, तपस्या, समर्पण र बलिदानीको गौरवपूर्ण इतिहाँस बोकेको शैक्षिक क्षेत्रमा रहेका बिकृति बिसङगतिका बिरुद्ध आन्दोलनको मात्र नभई सामाजिक, आर्थिक, राजनैतिक आन्दोलनको पनि अगुवाई गर्ने र अग्र मोर्चामा उभिने संगठन हो । साथै, शिक्षामा व्याप्त निजीकरण माफियाकरण व्यापारीकरणका बिरुद्ध राष्ट्रियता, जनतन्त्र र जिविकाको पक्षमा निरन्तरसंघर्ष गर्दै आइहेको कुरा यहाँहरुलाई सर्वविदितै छ ।

यसै सन्दर्भमा आसन्न चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्याथी युनियनको निर्वाचन तयारीको क्रममा जिल्लाको एकमात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पस रुकुमकोट, रुकुम (पूर्वी भाग) जिल्लामा सुरक्षा निकायका प्रमुख, स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिसङ्गको छलफलमा उपस्थित भई आफ्नो पदिय मर्यादाभन्दा बाहिरबाट अमुख राजनितिक पार्टीको सिपाहीका रुपमा प्रस्तुत हुने विषयले हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । जिल्लामा शान्ती सुरक्षा कायम गर्नुको सट्टा जिल्ला प्रहरी प्रमुखको कुर्सीमा बसेर सत्ताको बुट बजार्ने प्रवृत्तीले हाम्रो बलिदानको सगरमाथा बोकेको रक्तरञ्जित कलम तारा अंकित झण्डा उठाएको संगठनलाई सह्य नहुने कुरा यसै विज्ञप्ति मार्फत सचेत गराउँदछौं ।”