शिक्षकहरूलाई आफनै विद्यालयमा गुणस्तरीय र अन्तराष्ट्रिय तालिम प्रदान गर्न १२ बर्ष अघि स्थापित भएको राष्ट्रिय शिक्षक सीप विकास (एन्फोर्स्ड्ट) फाउन्डेसन कास्कीको १०औ बार्षिक साधारणसभा तथा पाचौं अधिवेशन गत भाद्र २८ गते सम्पन्न भएको  छ ।

साधारणसभा कार्यक्रमको समुद्घाटन गर्दै आमन्त्रित प्रमुख अतिथि प्याब्सन कास्कीका अध्यक्ष्य श्री मथुरा प्रसाद पौडेलले संस्थाले पोखरा र बाग्लुङ्गमा सञ्चालन गरिरहेको शिक्षक तालिमको बारेमा आफु साक्षात्कार हुन पाएको र आगामी दिनमा प्याब्सन कास्कीसंग सहकार्य गरी तालिम सञ्चालन गर्न पनि अनुरोध गर्नुभयो ।  उहाँले व्यवहारिक ज्ञान, सिप, अनुभवी र व्यवसायिक शिक्षक बनाउन तालिमको महत्व भएको बताउँदै एक आपसमा विज्ञता आदानप्रदान गरी शिक्षकहरूको क्षमता अभिवृद्धि गराउन र विद्यार्थीलाई जिज्ञासु र खोजपुलक कार्यमा लगाउनुपर्ने कुरामा जोड दिनुभयो ।

विशिष्ट अतिथि पृथ्वी नारायण क्याम्पसका प्रा.डा. रामजीवन यादवले सिकाइको नयाँ आयाम “पुस्तक बन्द गर र ढोका खोल” भन्ने भनाइले आफुलाई छोएको बताउंदै भोलिका दिनमा शिक्षकले किताबबाट मात्र पढाएर अबका २१औं सताब्दीका विद्यार्थीको सिकाइ आवश्यकता पुरा हुन नसक्ने भएकोले विद्यार्थीका कुरा धैर्यताका साथ सुन्ने, अन्तरक्रिया गर्ने र ‘आउट अफ बक्स’ सोच्ने बनाउनु पर्नेमा जोड दिनुभयो ।

आमन्त्रित अतिथि शिव शक्ति क्याम्पसका सञ्चालक समिति अध्यक्ष्य टुवराज बास्तोलाले आफ्नो  क्याम्पसलाइ साझेदार तालिम प्रदायक संस्थाको रुपमा  केन्द्रमा राखेर क्याम्पस पढ्दै गरेका बिद्यार्थी र बिद्यालयमा पढाइरहेका अनुभबी शिक्षकहरुलाई सँगै राखेर तालिम दिनु अत्यन्तै सह्रानीय रहेको बताए । सिकाइले शिक्षक टिक्न र बिक्न सक्ने बनाउनु पर्ने बताउनुभयो । नेदरल्यान्ड्सको विश्वविद्यालयहरूका प्रशिक्षकहरूबाट तालिम चलिरहेको कुरा आफुलाई  प्रत्यक्ष अनुभव भएको बताउंदै संस्थाले तालिम दिनको लागि भूगोल बिस्तार गरी गण्डकी प्रदेशभरि फैलाउनु पर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा फाउन्डेसन फर नेप्लिज ब्लाइण्ड स्टुडेण्ट्सका अध्यक्ष बिन्दु कोइराला सुबेदी, सल्लाहकारको तर्फबाट प्रा. गणेश तिमिल्सिना लगायतले बोल्नु भएको थियो भने संस्थागत सदस्य शैक्षिक संस्थाहरू शिव शक्ति क्याम्पसका प्रमुख तथा एल. ए. सेकेण्डरी, ताराकुञ्ज सेकेण्डरी, केफ सेकेण्डरी, बाल प्रभात, गौरीशंकर मावि, भास्कर मेमोरिएल, हार्वर्ड एकेडेमीका प्राचार्यज्यु सगायतको उपस्थिति थियो । केपिजेड विश्वविद्यालयका प्राध्यापक बर्ट, थियो र क्रिस्टिनाको भिडियो संदेश मार्फत शुभकामना सुनाइएको थियो ।

संस्थाका अध्यक्ष्यले संस्थाको आ. ब. २०८०÷८१ मा सम्पादित बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै संस्थाले बाग्लुङ र कास्कीमा अन्तराष्ट्रिय शिक्षक तालिम सञ्चालन गर्दै आएको र यो बर्ष २ बर्षे तालिमको कोर्स चैत्रमा सम्पन्न हुने बताउनुभयो । शिक्षकहरूको क्षमता विकास गर्नको लागि र शिक्षक तालिमको अभाव थोरै भए पनि कम गराउन निःस्वार्थ पहल गरेको उहाँले बताउनुभयो । नेदरल्यान्ड्स र नेपालका मौलिक शिक्षण पद्दतिहरू र असल अभ्यासहरु आदानप्रदान गर्दै आएको र सन् २०१९ मा टिचर्स इन पोखरा नामक अन्तरास्ट्रिय शिक्षक सम्मेलन आयोजना गरिसकेको बताउनु भयो ।

अधिवेशन कार्यक्रमबाट संस्थाका नि. अध्यक्ष्यद्वय सालिकराम अधिकारी र विश्वराज बाँस्तोलाको निर्वाचन मण्डलले प्रेम बहादुर कुँवरको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।   निर्वाचित हुने अन्य पदाधिकारीमा उपाध्यक्ष डिल्लीराम अधिकारी, सचिव शशिधर बराल, कोषाधक्ष्य  शोभा मिश्र अधिकारी, स–सचिवमा गोविन्द गौतम र कार्यसमिति सदस्यहरूमा नरेश तिमिल्सिना, रक्ष बहादुर क्षत्री, माधवी बाँस्तोला, शीला थापा र श्रीकृष्ण अधिकारी रहेको बताइएको छ ।