रुकुम(पूर्व) मा बृहत्तर यौनिकता शिक्षा कार्यक्रमको समिक्षा गरिएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको १७ वटा विद्यालयमा लागु भएको बृहत्तर यौनिकता शिक्षा कार्यक्रम अन्तर्गत सन २०२१ मा भएका विभिन्न कामकाजको समिक्षा गरिएको छ । बृहत्तर यौनिकता शिक्षा सिस्नेको ९ र भूमेको ८ वटा विद्यालयमा लागु गरिएको छ ।

किशोरकिशोरीमैत्री सुचना केन्द्र स्थापना भने १५ वटा विद्यालयमा मात्र गरिएको संयुक्त राष्ट्र संघिय जनसंख्या कोष(यूएनएफपीए) का जिल्ला संयोजक भूवन सेजुवालले जानकारी दिनुभयो । सिस्नेका दुई वटा १ नम्बर वडाको बल्लेचौर र २ नम्बर वडाको मावि नायगाडमा सुचना केन्द्र स्थापनाको प्रक्रियामा रहेको उहाँले बताउनुभयो । कार्यक्रम लागु भएको विद्यालयमा २०२१ मा प्रभावकारी रुपमा कामकाज भएको पाइएको निष्कर्ष समिक्षापछि निकालिएको छ ।

गएको वर्षमा बृहत्तर यौनिकता शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम, तालिम तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिएको छ भने विभिन्न सामाग्रीहरु प्रदान गरिएको छ । यस कार्यक्रमले विद्यालयमा किशोरकिशोरीमा धेरै परिवर्तनहरु ल्याएको यूएनएफपीएका जिल्ला संयोजक सेजुवालले बताउनुभयो । यस्तै आगामी कार्यक्रम पनि समयमै सम्पन्न गर्ने, किशोरकिशोरीमैत्री सुचना केन्द्रको अनुगमण गर्ने, सल्लाह सुझाव दिने लगाएतका निर्णयहरु गरिएको छ । आगामी कार्ययोजना भने अर्को बैठक बसेर गरिने छ ।

बृहत्तर यौनिकता शिक्षा जिल्ला प्राविधिक समितीका संयोजक एवम् शिक्षा विकास तथा समन्वय एकाई रुकुम(पूर्व) का प्रमुख तिलक गौतमको अध्यक्षतामा बसेको बैठकमा सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम संयोजक रामनारायण शाह र यूएनएफपीएका जिल्ला संयोजक सेजुवालले अहिलेसम्म भएगरेका कामकाजको बारेमा जानकारी गराउनुभएको थियो ।

बैठकमा निमित्त जिल्ला समन्वय अधिकारी रविन्द्र बुढाक्षेत्रीको प्रमुख आतीथ्यता रहेको थियो । बृहत्तर यौनिकता शिक्षा जिल्ला प्राविधिक समितीका सदस्यहरु र सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष त्रिलोचन घिमिरेलगाएतको पनि बैठकमा उपस्थिती रहेको थियो । सिद्धार्थ सामाजिक विकास केन्द्र र यूएनएफपीएको आर्थिक तथा प्राविधिक सहयोग र बृहत्तर यौनिकता शिक्षा जिल्ला प्राविधिक समितीको आयोजनाका बैठक बसेको हो ।