रुकुम पूर्वमा मानसिक स्वास्थ्य सम्बन्धि जिल्लास्तरीय पैरवी बैठक सम्पन्न भएको छ । पछिल्लो समयमा बढ्दो समस्याको रुपमा रहेको मानसिक स्वास्थ्य समस्यालाई लिएर जिल्लाका सरोकारवालाबिचमा छलफल तथा अन्तरक्रिया भएको छ ।

यस जिल्लाको भूमे र पुथा उत्तरगंगा गाउँपालिकामा यूनाइटेड मिसन टु नेपाल रुकुम पूर्व कलष्टरको आर्थिक सहयोगमा नेपाल जनजागरण मञ्चले सामुदायिक रुपान्तरण परियोजना(प्रो-याक्ट) मार्फत विगत ३ वर्षयता मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ । आजको बैठक मानसिक स्वास्थ्यसँग सम्बन्धित सवालहरुलाई  तथा समस्याहरुलाई दिगो रुपमा कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको थियो ।

हाल जिल्लामा ४ सय ९२ जना पहिचान भएका मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरु रहेको नेपाल जनजागरण मञ्चले जानकारी गराएको छ । मानसिक समस्या भएका बिरामीहरु जिल्लामा धेरै रहेको र यस्तो समस्या भएका बिरामीहरु बढ्दै गइरहेको अवस्थामा उनिहरुलाई उपचार गर्ने‚ नियमित औषधी सेवन तथा औषधी उपलब्धताको अभाव‚ मनोपरामर्श तथा नियमित रुपमा फ्लोअप गर्ने कुराहरु चुनौतीपूर्ण रहेको हुँदा बिरामीहरुको उपचार तथा व्यवस्थापनमा समस्या देखिइरहेको कुरा बैठकमा उठाइएको थियो ।

मानसिक समस्या भएका बिरामीहरुलाई अहिले जिल्ला बाहिर रिफर गरेर उपचार गरिदै आएइको छ । जिल्ला बाहिर रिफर गर्दा खर्च धेरै लाग्ने भन्दै यहाँको सरोकारवालाहरुको सहयोगमा जिल्लामै मानसिक समस्या भएका बिरामीहरुको उपचार गर्ने  व्यवस्था मिलाउन सकेमा धेरै प्रभावकारी हुने र यस समस्यालाई दिगो रुपमा समाधान गर्न सकिने नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक बहादुर कुसारीले बताउनुभयो ।

आजको बैठकले रुकुम पूर्व अस्पतालमा मानसिक स्वास्थ्य क्षेत्रमा सेवा प्रवाह गर्न मेडिकल अधिकृतलाई फोकल पर्सन तोक्ने र अस्पताललाई रिफर सेन्टरको रुपमा विकास गर्नको लागि पहल गर्ने निर्णय गरिएको छ । बैठकमा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मि र भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले मानसिक स्वास्थ्य समस्याको व्यवस्थापनलाई लिएर आफूहरु गम्भिर भएको र यसको लागि सकेको सहयोग पालिकाबाट गर्ने तथा प्रदेश संघमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपाल जनजागरण मञ्चका अध्यक्ष टेक बहादुर कुसारीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि‚ भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठसँगै विभिन्न कार्यालयका प्रमुख तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।