
रुकुम(पूर्व) मा निजामती सेवा दिवसको अवसरमा फुटबल र डबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । कर्मचारी मिलन केन्द्र रुकुम(पूर्व) कोे आयोजनामा निजामती सेवा दिवसको अवसर पारी रुकुमकोटमा फुटबल र डबल ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको हो ।
हरेक वर्षको भदौ २२ गते पर्ने निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरि मनाइदै आइएको छ । यस वर्ष मिलान केन्द्रले दिवसको अवसर पारी मैत्रिपूर्ण खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । भदौ १६ गते बिहिबार बिहान ५ बजेबाट रुक्मिणी माविको खेल मैदानमा सुरु हुने मैत्रिपूर्ण फुटबल प्रतियोगितामा ६ समुहले प्रतिस्पर्धा गर्ने फुटबल प्रतियोगिताका खेल संयोजक एवम् कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख नरेन्द्र बुढामगरले जानकारी दिनुभयो । पानी परेन भने १६ गतेबाट सुरु भएको मैत्रिपूणै फुटबल प्रतियोगिता २० गते सम्पन्न हुने खेल संयोजक बुढा मगरले बताउनुभयो ।
यसैगरी महिला तथा पुरुष डबल ब्याड्मिन्टन प्रतियोगिता १७ गतेबाट सुरु हुने भएको छ । अहिलेसम्म पुरुष ब्याडमिन्टन प्रतियोगिताको लागि समुह ए अर्थात सिनियरतर्फ १८ र समुह बि अर्थात जुनीयरतर्फ २२ गरी ४० जोडिले नाम दर्ता गराएको ब्याडमिन्टन प्रतियोगिताका खेल संयोजक एवम् प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुकुम(पूर्व)÷रोल्पाका कार्यालय प्रमुख मित्रलाल पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार महिलातर्फ भने अहिलेसम्म पाँच जोडिले नाम दर्ता गराएका छन् ।
सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको दाहाल कभर्डहलमा सञ्चालन हुने प्रतियोगिता बिहान अफिस समय सुरु हुनुभन्दा अघि र साझ पनि अफिस समय सकियो भने सञ्चालन गरिने छ । शनिबार भने दिनभरीनै प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।