
रुकुम पूर्वको सिस्ने गाउँपालिकाको पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ रुक्मिणी माविमा सुरु भएको छ । बिहीबार जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठले उक्त छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ काे उद्घाटन गर्नुभएको हाे ।
शिल्डमा सिस्ने गाउँपालिका भित्रका १० ओटा माध्यामिक विद्यालय सहभागी भएको सिस्ने गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मंगल सिंह बुढाले जानकारी दिनुभएको छ । उहाँका अनुसार शिल्ड अवधिभर खेललाई मर्यादित तथा मैत्रीपूर्ण बनाउन सिङ्गो गाउँपालिकाकाे टिम लागिपरेको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठले खेललाई विवादरहित बनाउन विद्यालय तथा आयाेजक टिमलाई निर्देश दिनुभएको छ । प्रमुख श्रेष्ठले खेलकुद क्षेत्र एउटा स्वस्फूर्त तवरबाट प्रतिस्पर्धा गर्ने विधा भएकाले यसमा विवाद गर्नुपर्ने आवश्यकनै नभएको बताउनुभएको छ ।
कार्यक्रमका बिशेष अतिथि तथा जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख माेहन बहादुर केसीले याे छैटौं राष्ट्रपति रनिङ शिल्डमा खेलाइने विभिन्न विधालाई खेलकुद प्रतियोगिता मात्रै नभनी सबैले मैत्रीपूर्ण खेलकुद प्रतियोगिता भन्नुपर्ने र यसलाई साँच्चिकै मैत्रीपूर्ण बनाउन सबै लागे खेलमा विवाद नहुने बताउनुभएको छ ।
कार्यक्रममा रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, नेपाली काङ्ग्रेस रुकुम पूर्वका काभा सभापति भिम बहादुर खड्का, नेकपा माओवादी केन्द्र रुकुम पूर्वका संयोजक कुमारी बराल गौतम, एकीकृत समाजवादी रुकुम पूर्वका सचिव भुवनेश्वसर उपाध्याय, राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्य हरि थापा, नेपाल शिक्षक महासंघ रुकुम पूर्वका अध्यक्ष मान बहादुर बस्नेत लगायतका बिशेष अतिथि तथा अतिथिहरुले खेलकुद क्षेत्र राष्ट्रकाे गहना भएको र खेलकुदले नै देशलाई चिनाउने काम गरेको विभिन्न उदाहरण दिदै सबैले याे राष्ट्रपति रनिङ शिल्डलाई भव्य र सभ्य बनाउन आआफ्नो क्षेत्रबाट सबैले भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।
यस छैठौं राष्ट्रपति रनिङ शिल्ड उद्घाटन कार्यक्रमका अध्यक्ष तथा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले यश अघिका विभिन्न तिता अनुभवबाट यसपटककाे शिल्डलाई उत्कृष्ट र भद्र बनाउन सिस्ने गाउँपालिका लागेको बताउनुभएको छ । अध्यक्ष रेग्मीले बीचमा कुनै विवाद आए आयाेजक, गाउँपालिकाकाे सचिवालय सहितको उप समिति, रेफ्रि लगायतको टिम रहेको कुरा जानकारी गराउनुहुँदै सबैले इमानदारीसाथ, नैतिकवान भएर सबै जिम्मेवार भए खेलमा विवाद नहुने बताउनुभएको छ ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीकाे अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा विभिन्न प्रतिभाहरु प्रस्तुत गरिएको थियो भने उद्घाटनशत्रकाे सबै गतिविधिहरु रेडियो पूर्वी रुकुमकाे फेसबुक पेजबाट प्रत्यक्ष भिडियो लाइभ गरिएको थियो । कार्यक्रमकाे सञ्चालन उर्मिला गौतमले गर्नुभएको थियो ।।