![](https://mulukpati.com/wp-content/uploads/2022/03/masala-talim.jpg)
रविन विश्वकर्मा/रुकुम(पूर्व)
रुकुम(पूर्व) मा मसला सम्बन्धि सीप विकास तालिम दिन थालिएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम(पुर्व) ले आजदेखि मसलाजन्य उद्योग विकास विविधीकरण तथा बजारीकरण सम्बन्धि सीप विकास तालिम दिन थालेको हो । १५ दिनको लागि सिंस्ने गाउँपालिका ६ स्थिति साझा भवनमा आयोजना गरिएको तालिमको आज उद्घाटन गरिएको छ ।
तालिमको उद्योग वाणिाज्य संघ रुकुम(पूर्व) का अध्यक्ष यज्ञप्रकाश मल्लले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि कार्यक्रमा बोल्दै अध्यक्ष मल्लले सिपले मानिसलाई आत्म निर्भर बनाउने बताउनुभयो । सीप मानिसको लागि अपरिहार्य रहेको बताउदै सिपकै माध्यम अब आर्थिक समृद्धिको बाटो खोज्ने बेला आएको बताउनुभयो ।
अध्यक्ष मल्ले बिगतका बर्षहरुमा स्थानीय सरकार, जिल्ला स्थित विभिन्न संघसंस्थाहरुले स्वरोजगार बनाउन विभिन्न सीपमुलक तालिम संञ्चालन गरे पनि ब्यवहारमा लागू नहुदा उपलब्धी खासै नदेखिएको बताउनुभयो । राज्यले नागरिकको जिवनस्तर माथि उकास्न धेरै लगानी गरेर तालिम संञ्चालन गर्ने तर तालिम पछि सीपको सदुपयोग नगर्ने प्रवृत्ति बढेको बताउनुभयो । सीप सिकेर ब्यवहारमा लागू नगरे त्यसको कुनै अर्थ नरहने भएकाले तालिम पश्चात स्थानीय स्तरमा रहेका स्रोत साधनको उपयोग गर्दै ब्यवसायिक बन्नजोड दिनुभयो । साथै तालिम अत्यन्तै महत्त्वपूर्ण रहेकाले सकृयताका साथ तालिममा सहभागी हुन आग्रह गर्नुभयो ।
तालिममा ३ वटै गाउँपालिकाका महिला पुरुष गरी २० जनाको सहभागी रहेको छ । चैत १५ गते सम्म चल्ने तालिमको प्रशिक्षण रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० का जोखसमाया कठायतले दिनुहुनेछ । तालिम अवधिभर मसला भनेको केहो,कच्चापदार्थको नाम,मसला प्रशोधनमा आवश्यक मेसिन तथा औजारहरु, मसला बनाउने विधि, प्रकृया, तरिका, लेबलिङ, प्याकेजिङ, मूल्य निर्धारण, बजारीकरण लगाएका बिषयमा शैद्वान्तिक एवम् प्रयोगात्मक तरिकाले प्रशिक्षण दिने प्रशिक्षक कठायतले बताउनुभयो ।
कार्यालयको चालू आर्थिक बर्ष २०७८र७९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार मसलाजन्य उद्योगलाई तालिम तथा प्रविधिमा सहयोग कार्यक्रम अन्तर्गत नागरिकलाई सीप प्रदान गरिन आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिमको आयोजना गरेको घरेलु तथा साना उद्योग विकास कार्यालय रुकुम(पुर्व) का उद्योग अधिकृत मधुकर डांगिले बताउनुभयो । उहाँका अनुसार तालिम संञ्चालनको लागि १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सोहि बजेटबाट टाढाका सहभागिहरुलाई खाना, खाजा र बस्नको समेत ब्यवस्था गरिएको बताउनुभयो । तालिमपछि ब्यवसाय संञ्चालन गर्न चाहानेहरुलाई कार्यालयको ८० प्रतिशत अनुदान र ब्यक्तिको २० प्रतिशत लगानी गरि अनुदानमा आवश्यक प्रविधि समेत हस्तान्तरण गरिने बताउनुभयो ।
उद्योग अधिकृत डांगिले सिपले मानिसको जिवनशैली परिवर्तन गर्ने भएकाले हरेक ब्यक्तिले सीप सिक्न आवश्यक रहेको बताउनुभयो । सीप सिकेको ब्यक्ति बेरोजगार बस्न नपर्ने बताउनुभयो । सिपले नै मानिसलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने भएकाले सबैले कामको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्योग अधिकृत डांगिलेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उद्योग वाणिाज्य संघ रुकुम पूर्वका अध्यक्ष यज्ञ प्रकाश मल्लको प्रमुख आतिथ्यता रहेको थियो । घरेलु कार्यालयका नायव सुब्बा सागर लामिछानेको स्वागत मन्तब्य रहेको कार्यक्रमको संञ्चालन उद्यम विकास सहजकर्ता बिनोद कुमार गौतमले गर्नुभएको थियो ।।